आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

देशका हिमाली र पहाडी भू–भागमा आज आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी हिमाली भू–भागमा पनि आंशिक बदली हुने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *