राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा, सन्दीपले कप्तानी गर्ने
थानकोट ।
कतारमा आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले हिजो आइतबार प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो ।
टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन् ।
मंसिर ३ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।










