द्रुतमार्गकाे सबैभन्दा लामो सुरुङ छिचोलियो
थानकोट ।
तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ छन् ।
आज बुधबार द्रुतमार्गको सबैभन्दा लामो सुरुङमार्गको दायाँ भागतर्फ छिचोल्ने काम भएको हो ।
यसअघि गएको भदौमा बायाँ भाग छिचोलिएको थियो । आज छिचोलिएको सुरुङको लम्बाइ झण्डै साढे ३ किलोमिटर रहेको छ । बिहान महादेवटारमा नेपाली सेनाले आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङ छिचोलिएको हो ।
नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।
नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी काम गरिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको झण्डै ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।










