नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: चितवन क्वालिफायर-२ मा छनोट

Thankot Times

थानकोट ।

चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न इलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै अन्तिम चारबाट अघि बढ्ने सम्भावना कायम राखेको हो ।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो ।

काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए ।

यस्तै, भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रशिद खानले १२ तथा सन्तोष यादवले १० रन जोडे । काठमाडौंका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनका रिजन ढकालले सर्वाधिक चार विकेट लिए । यस्तै, उसामा मिरले तीन तथा कुशल मल्ल र सलाहुद्दीन खानले समान एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

चितवनको विशाल योगफल निर्माणमा श्रीलंकाली ओपनर कामिल मिशाराले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलमा १० छक्का र पाँच चौकाको मद्दतमा अविजित १२० रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी दोस्रो ब्याटर बनेका छन् ।

यस्तै, चितवनका कप्तान रवि बोपाराले पनि अर्धशतक बनाए । उनले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रनको योगदान दिए । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

काठमाडौंका कप्तान करण केसी र रशिद खानले समान दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस जितसँगै चितवनले अब फाइनल प्रवेशका लागि आज बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ