नेपाल प्रिमियर लिग क्रिकेट-२०२६ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स फेरि आमनेसामने हुने भएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

यसअघि गत मंगलबार भएको क्वालिफायर–१ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । दोस्रो क्वालिफायरमा चितवनलाई ३ विकेटले हराएसँगै सुदूरपश्चिमले लुम्बिनीसँग फाइनल भेट पक्का गरेको हो ।

गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसअघिका दुवै संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम उपाधि जित्न असफल भएको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो संस्करणमा पनि फाइनल पुगेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

 लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पुरानो हारको हिसाब बराबर गर्दै पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

यता लुम्बिनी भने उपाधि रक्षा गर्दै एनपीएलमा लगातार दोस्रोपटक च्याम्पियन बन्न चाहन्छ ।

शनिबार हुने फाइनलले यस सिजनको च्याम्पियन टोलीको टुंगाे लगाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *