एसीसी राइजिङ स्टार्ट कप: भारत ए विरुद्ध नेपाली राष्ट्रिय टोली २६ रनमा अलआउट

Thankot Times

थानकोट ।

एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत ‘ए’ विरुद्धको खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल भारत ‘ए’ सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । नेपालले ब्याटिङमा अत्यन्तै कमजोर प्रदर्शन गरेपछि भारतले एकपक्षीय जित निकालेको हो ।

उक्त लक्ष्य पछ्याउने क्रममा नेपालका पाँच खेलाडी शून्य रनमै आउट भएका थिए । अर्जुन कुमाल, कुशल भुर्तेल, बसिर अहमद, लोकेश बम र सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

दीपक डुम्रेले १, पवन सर्राफ र राशिद खानले समान ६/६, नन्दन यादवले २, प्रतिश जिसीले ४ र ललित राजवंशीले २ रन जोडे । नेपालका ब्याटरहरू भारतीय बलरसामु टिक्न सकेनन् ।

भारतका प्रिन्स यादवले ५, हर्षित रानाले ४ र शाहबाज अहमदले १ विकेट लिए ।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको थियाे ।

भारत ‘ए’का लागि तिलक बर्मा र कुमार कुशाग्रले शतकीय पारी खेले । तिलकले १ सय १७ र कुमारले १ सय ७ रनको शतकीय पारी खेलेका हुन् ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले तीन–तीन विकेट लिए । नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट लिए ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् । त्यस्तै, समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् ।

समूह ‘बी’ मा रहेको नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भइरहेका कारण रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *