मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

Thankot Times

थानकोट ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपका सरोज यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार (मंसिर ०५ गते) एक विज्ञप्ति जारी गर्दै मधेसको नयाँ मुख्यमन्त्रीमा जसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको हो ।

यही २९ गते प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।

तर प्रदेश प्रमुखको कार्यालय दिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मङ्सिर ५ गते शनिबार बिहान ८ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न समय दिइएको थियो ।

तर, उक्त समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताका हैसियतमा जनता समाजवादी पार्टी नेपालका सांसद यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *