सतुंगलमा लोकतान्त्रिक बाम गबठन्धनको चुनावी सभा, प्रधानमन्त्री देउवा लगायतको सम्बोधन
थानकोट ।
आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनला केन्द्रित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले शुक्रबार काठमाण्डाै क्षेत्र नंं १० को चन्द्रागिरि नगरपालिकामा बृहत चुनावी सभा आयोजना गरेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको उपस्थितिमा सम्पन्न चुनावी सभामा विभिन्न पार्टीमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने भन्ने कुराको फैसला गर्ने बताए ।
ठूलो संघर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले भने ‘यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।’
सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले भने, ‘हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्त्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौं ।’
प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २–२ पटक संसद् भंग गरेपछि आफूहरूले मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘२ पटक संसद् भंग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौं । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौं । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।’
त्यस्तै चुनावी सभामा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव बेदूराम भुसालले गठबन्धनका उम्मेदवारलाई मत हाल्दा कुनै पनि दुविधामा नरहन आग्रह गरे ।
मत साटासाट गर्ने हुँदा गठबन्धनका उम्मेदवारलाई मत दिँदा लेनदेनको विषय नबनाउन पनि भुसालले आग्रह गरेका छन्। काठमाडौं क्षेत्र नम्बबर १० को चुनावी सभालाई सम्बोधन गर्दै भुसालले उक्त आग्रह गरेका हुन्।
‘रुखमा मतदान गरिरहेका मतदाताले हैंसिया हतौडा वा कलममा कसरी मतदान गर्न सकिन्छ, कलममा मतदान गर्दै गरेकाले रुखमा कसरी मतदान गर्न सकिन्छ भन्ने एक खालको दुविधा रहेको देखिन्छ, सुनिन्छ। मलाई के लाग्छ भने यसमा कुनै प्रकारको दुविधा राख्न जरुरी छैन। किनभने हामी कसैले कसैलाई दिने हैन एकअर्कोलाई साटासाट गर्ने हो,’ भूसालले भने, ‘एक ठाउँमा हामी एउटा पार्टीलाई दिन्छौं, अर्को ठाउँमा त्यही पार्टीले हामीलाई दिन्छ त्यस कारण हामीले मत साटासाट गर्ने हो।’
यो क्षेत्रमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका राजन केसीले उम्मेदवारी दिएका छन्। उनी सत्तागठबन्धनका साझा उम्मेदवार हुन्। यद्यपी, नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले पनि उम्मेदवारी दिएपछि केसी र विशंखेबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ।
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए ।
कार्यक्रमलाई नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र कुमार केसी, काठमाण्डाै क्षेत्र नं. १० प्रदेश १ का नेपाली काँग्रेसका उम्मेदवार पुकार महर्जन, प्रदेश २ का एकीकृत समाजवादीकी उम्मेदवार रमा आलेमगर लगायतले सम्बोधन गरेका थिए ।














