सभामुखको निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
थानकोट ।
सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन भोलि माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरू मध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।














