रास्वपाको कार्यवहाक सभापति र संसदीय दलको नेताको जिम्मेवारी उपसभापति अर्याललाई

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवहाक सभापतिको जिम्मेवारी डोल प्रसाद अर्यालले पाएका छन् । पार्टीको विधान बमोजिम अर्काे व्यवस्था नभएसम्मका लागि उपसभापति अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको रास्वपाले जनाएको छ ।

“सर्वाेच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्काे व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ,” रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “पार्टीको संसदीय दलको बैठकले सर्वाेच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकाले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई चयन गरेको छ ।”

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि हुन् ।

यस्ताे छ रास्वपाकाे विज्ञप्तिकाे पूर्णपाठ:

विज्ञप्तिको पूर्णपाठ

मितिः २०७९।१०।१३
विज्ञप्ती

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेको नागरिकताका सम्बन्धमा सम्मानित सर्वाेच्च अदालतबाट भएको फैसला बमोजिम पार्टीले आफ्नो कामकारवाही अगाडि बढाउने निर्णय गरेको छ । कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ ।

 सम्मानित सर्वाेच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्काे व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति श्री डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ । 

 आजै बसेको पार्टीको संसदीय दलको बैठकले सम्मानित सर्वाेच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति माननीय श्री डोल प्रसाद अर्याललाई चयन गरेको छ ।

 साथै पार्टीको यस चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।

डा. मुकुल ढकाल
महामन्त्री तथा प्रवक्ता


Leave a Reply

Your email address will not be published. Required fields are marked *