नगर प्राथमिक अस्पताल अवलोकन गर्न कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरू थानकोटमा
थानकोट ।
संयुक्त राज्य अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरूको समुहले बिहीबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित नगर प्राथमिक अस्पतालको भ्रमण गरेको छ ।
सो क्रममा विद्यार्थीहरूले कोरोना महामारीका क्रममा प्राथमिक अस्पतालले पुर्याएको योगदानको बारेमा विशेष चासो राखेको बताइएको छ।
सो क्रममा विद्यार्थीहरूले चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेका कार्यहरूका बारेमा उत्सुकताका साथ जिज्ञासा राखेको नगरप्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
सो क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, नगरको सामाजिक विकास शाखा संयोजक एवं वडाध्यक्ष घनश्याम लुँइटेल लगायत जनप्रतिनिधिहरू तथा नगरको स्वास्थ्य सेवा शाखाका कर्मचारीहरूबीच आगन्तुकहरूसँग स्वास्थ्य सेवा सँग सम्बन्धित विषयवस्तुहरू माथि अन्तर्क्रिया गरिएको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को नेपाल कार्यालयको सहजीकरणमा उनीहरू प्राथमिक अस्पताल थानकोट आएको सो अस्पतालका सल्लाहकार परशुराम श्रेष्ठले जानकरी दिनुभयो ।














