‘हनी ट्रयाप’मा पारेर दोहोरी साँझमा पुर्‍याउँदै लुटपाट गर्ने चेकपोष्टका एकसहित ६ जना पक्राउ

Thankot Times

थानकोट । 

‘हनी ट्रयाप’ शैलीमा भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका-९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी, रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा दार्जे थिङ छन्।

यस्तै, मुगुको सोरु गाउँपालिका-८ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३२ वर्षीय धीरबहादुर शाही, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–१ घर भइ स्वयम्भू बस्दै आएका २५ वर्षीय कृष्ण सुनार र बाजुराको बूढीनन्दा नगरपालिका–५ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय पवनबहादुर मल्ल समेत पक्राउ परेका छन्। 

युवती मिलाइदिने भन्दै प्रलोभन देखाएर ‘हनी ट्रयाप’मा पार्दै उनीहरूले भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेको पाइएको वृत्त महाराजगञ्जले जनाएको छ। चैत १ गते राति २ बजेतिर उनीहरूले ठमेलबाट भारतीय नागरिक प्रशान्त कुमार, हरिश पाल बाब्बरसहित ५ जनालाई हनी ट्रयापमा पारी ट्याक्सीमा राखेर काठमाडौं महानगरपालिका–२६ मीत्रनगरस्थित रातो पच्छ्यौरी दोहोरीमा पुर्‍याई कोठामा बन्धक बनाएर लुटपाट गरेका थिए। 

भारतीय नागरिकको साथमा भएको ५८ हजार भारु र ५ लाख ५४ हजार नेपाली रुपैयाँ उनीहरूले लुटेको पाइएको वृत्तका डीएसपी अंगुर जिसीले बताए। लुटिएपछि भारतीय नागरिकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तत्कालै खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त दोहोरीबाटै पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले १४ हजार ५ सय रुपैयाँ, मोबाइल ५ थान बरामद गरेको छ। पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिताको दफा, २०७ को परिच्छेद २० को चोरी तगा डाँका सम्बन्धी कसुरमा म्याद काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *