थानकोट क्षेत्रमा ह्वात्तै बढ्यो जग्गाको कित्ताकाट

Thankot Times

थानकोट ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले उपत्यकाको काँठ क्षेत्रमा घरजग्गा किनबेच बढिरहेको देखाएको छ ।

मुख्य शहरी भेगमा किनबेच घट्दै गइरहेको डिल्लीबजार मालपोत कार्यालयको तथ्यांक हेर्दा थाहा हुन्छ ।

जग्गाको कित्ताकाट पनि उपत्यकाको कुनाकाप्चातिर धेरै हुन थालेको छ । भित्ता खोस्‍सिएर कित्ताकाट गर्नेले उपत्यकाका डाँडाकाँडा फुस्‍सै बनाइसकेको देखिन्छ । 

उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयको तथ्यांक हेर्दा लगनखेल मालपोतबाट सबैभन्दा धेरै कित्ताकाट भएको देखिन्छ । ०७९ को ११ महिनामा लगनखेलबाट २४ हजार दुई सय जग्गा कित्ताकाट भएका छन् । खासगरी, दक्षिण ललितपुरमा रहेको खाली जग्गा धमाधम कित्ताकाट भइरहेको तथ्यांकले देखाउँछ नेपाल होम्समा खबर छ । 

भक्तपुरमा ११ महिनामा १४ हजार ३२९ जग्गा कित्ताकाट भएको छ । अझै  पनि भक्तपुरमा जग्गाको मूल्य कम हुनुका साथै खाली जग्गा पनि रहेको हुनाले कित्ताकाट बढी भएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै ६ वटा मालपोत कार्यालय रहेका छन् ।

छ वटै मालपोत कार्यालयको तथ्यांक जोड्ने हो भने ११ महिनामा ३९ हजार ७७१ जग्गा कित्ताकाट भएका छन् ।

तर, ६ वटा मालपोत कार्यालयको तथ्यांक छुट्टाछुट्टै हेर्दा कलंकी र साँखु मालपोत कार्यालयले हेर्ने क्षेत्रमा धेरै कित्ताकाट भएको देखिन्छ ।

उपत्यकामा भएको कुल कित्ताकाटमध्ये कलंकीबाट १६ र साँखुबाट १५ प्रतिशत कित्ताकाट भएका छन् । कलंकी मालपोतअन्तर्गत दहचोक, थानकोट, मातातिर्थ, किर्तिपुर, कलंकी क्षेत्र, दक्षिणकालीसम्म पर्छन् । 

पछिल्लो समय कित्ताकाट र प्लटिङको काम सबैभन्दा धेरै यीनै क्षेत्रमा भइरहेको तथ्यांकले देखाउँछ । भक्तपुर जिल्लामा रहेको एउटामात्र मालपोत कार्यालयबाट जम्मा कुल कित्ताकाटको १७ प्रतिशत हिस्सा समेटेको छ ।

उपत्यकामै सबैभन्दा महंगा प्रोपर्टी किनबेच गराउने डिल्ली बजार मालपोत कार्यालयबाट कुल कित्ताकाटको २ प्रतिशतमात्र कित्ताकाट भएको विभागको तथ्यांकले देखाउँछ ।

११ महिनामा लगनखेलबाट २४ हजार दुई सय, गोटिखेलबाट १६०, भक्तपुरबाट १४ हजार ३२९, डिल्लीबजारबाट १८ सय ११, चावाहिलबाट ७ हजार ६८३, कलंकीबाट १२ हजार ९०३, साँखुबाट १२ हजार ३९६, मनमैजुबाट ४ हजार ९७८ र टोखाबाट ३ हजार ७३२ जग्गा कित्ताकाट भएका छन् ।

अहिले उपत्यकामा रहेका २१ वटै पालिका जग्गा वर्गीकरण टुंग्याएर सबैतिर कित्ताकाट खुला भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *