नसर्ने रोगको जोखिम बढ्दै, मुख्य कारक खानपान र वायु प्रदूषण
थानकोट ।
नेपालमा नसर्ने रोगहरुको जोखिम र रोगीको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्यामा बर्सेनि हुने मृत्युको ६६ प्रतिशत नसर्ने रोग कारक रहेको छ । त्यसमा मुख्यगरी क्यान्सर, मिर्गौला, मुटुरोग, मधुमेह र सीओपीडी छन् । नसर्ने रोगहरुको मुख्य कारण बदलिँदो खानपान र जीवनशैली तथा वातावरण प्रदूषण रहेको विज्ञहरु बताउँछन् ।
जंक फुडको उपभोग बढ्नु, धुम्रपान र मद्यपानको सेवन, व्यायामको कमीजस्ता कारणले नसर्ने रोगको जोखिमलाई झनै बढाइहेको नेपाल एनसीडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मी बताउँछन् । यसबाहेक बढ्दो वातावरण प्रदूषण पनि श्वासप्रश्वासजन्य नसर्ने रोगको अर्को मुख्य कारक भएको उनी बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सन् २०१९ मा वायु प्रदूषणसम्बन्धी रोगहरुका कारण ४२ हजार १०० जनाको मृत्यु भएको थियो । जसमध्ये पाँच हजार ८० जनाको काठमाडौंमा मृत्यु भएको थियो । फोक्सोसम्बन्धी घातक रोग सीओपीडीको ६६ प्रतिशत कारण पनि वायु प्रदूषण नै रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगहरुबाट अल्पायुमै हुने मृत्युदरमा सन् २०२५ सम्ममा २५ र २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ । सो लक्ष्य प्राप्तिका लागि सरकारले नसर्ने रोगहरुलाई प्राथमिकतामा राख्नुपर्ने र बनेका नीति तथा योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा नेपाल एनसीडी अलाइन्स तथा सरोकारवालाहरुको जोड छ ।














