धादिङमा होटल सञ्चालकले चक्कुले घोपेर सेवाग्राहीको हत्या गरेपछि स्थिति तनावग्रस्त, सडक अवरूद्ध

Thankot Times

थानकोट ।

धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्ने गल्छी गाउँपालिका-८ निबुवाबोटको एक होटलमा भएको विवादले उग्ररुप लिएपछि एक जनाको ज्यान गएपछि स्थानीयले विरोधस्वरुप सडक बन्द गराएका छन् ।

प्रहरीले सडक सुचारू गराउने प्रयास जारी गरे पनि सडक अझै खुल्न सकेको छैन् ।

स्थानीय शानदार होटलमा खाना खाएर पैसा तिर्ने क्रममा विवाद हुँदा सोही होटलका निरज पण्डितले छुरा हानेपछि स्थानीय २३ वर्षीय विनोद मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु पछि स्थानीय बिहानदेखि गल्छी–त्रिशूली सडक खण्ड बन्द गराएका हुन् ।

बुधबार राति ११ शानदार होटलमा खाना खाए विनोद मगरसहित ३ जनाले १५ सय रुपैयाँ तिरेका थिए । यसअघिको पैसा नतिरेको भनेपछि होटल साहुनी सरस्वती पण्डितसँग उनीहरूको विवाद भएको थियो । सरस्वतीले झगडा मिलाउन छोरा निरजलाई बोलाएकी थिइन् । निरजले विनोद मगरलाई दुई पटक चक्कु हानेपछि उनी ढलेका थिए । त्यतिले मात्र नभइ विनोदलाई मोटरसाइकलले शरीरमा गुडाएको स्थानीयले बताएका छन् । पछि सबै गाउँले मिलेर विनोदको उपचारको लागि काठमाडौं पठाइएको थियो ।

उनको काठमाडौंमै मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । विरोधस्वरुप उनीहरूले आज सडक बन्द गराएका छन् ।

बन्द सडक खुलाउन प्रयास गर्दा प्रहरीबाट हवाई फायर समेत भएको छ ।

प्रहरीले चक्कु प्रहार गर्ने होटल सञ्चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा एसपी गौतम मिश्रले बताए । होटलमा बसेका चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *