प्युठान कार दुर्घटनामा परि मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना प्रकट
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् ।
“प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ ।
उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ ।
यसैबीच सो कार दुर्घटनामा परि ज्यान गुमाउने सबै ८ जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा
घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय शिशिर खनालसहित तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन्।
घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ।
शर्मा र शाहको परिवार घोराही- १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे। सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन्।
स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार कार करिब ४५ मिटर तल सडकमा आएर बजारिएको थियो। गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको डिएसपी खड्काले बताए।













