मिड सोलुको आईपीओ आजबाट बिक्री खुला, असोज १ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ ।

 कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । 

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले १४ हजार ९६८ कित्ता कर्मचारीहरूका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने बताइएको  छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत् आयोजना प्रबर्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *