सिंहदरबारमा भेट, चन्द्रागिरिमा रात्रीभोज
थानकोट ।
उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरुसँग ४१ परियोजनाहरुमा युएईको लगानी भित्र्याउने पहल गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले बालेन सरकारसँग ‘बलियो एक्सेस’ बनाउँदै लगेका छन् । निजी क्षेत्रसँग बिरलै भेट्ने र छलफल गर्ने बालेन सरकार र उनको टिमसँग ढकालले गहिरो सम्बन्ध बिस्तार गर्दै अघि बढेका हुन् । यहि क्रममा उनले केहि विदेशी स्थित सरकारी प्रतिनिधी र आगन्तुकहरुलाई बालेन सरकारको महत्त्वपूर्ण मन्त्री र पदाधिकारीहरुसँग भेट गराएका छन् ।
युएईका लगानीकर्ताहरुलाई बिहिबार (असार २५ गते) चन्द्रागीरीमा रात्रीभोज सहित स्वागत कार्यक्रम गर्दै ढकालले महत्वपुर्ण पहल थालेका हुन् । सरकारले निजी क्षेत्रसँग दुरी बनाईरहेका आरोप लागिरहेका बेला ढकालले भने मन्त्री र बालेनको सचिवालयसँग निरन्तर संवाद गरि लगानीको वातावरण बनाउन भूमिका खेल्न थालेका हुन् ।
मन्त्री सहितका व्यवसायिक टोलीलाई ढकालले व्यक्तिग रुपमा स्वागत गरेका हुन् । चन्द्रागिरीको रात्री भोजमा परराष्ट्र मन्त्री शिशिर खनाल समेत सहभागी थिए । संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापार राज्यमन्त्री डा. थानी अहमद अल जेयुदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डललाई व्यवसायी ढकालले चन्द्रागिरिमा रात्रीभोज दिएका हुन् ।
ढकालको समन्वयमा युएईको टोलीले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, उद्योग मन्त्री, लगानी बोर्डका प्रतिनिधीहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।
सो स्वागत तथा रात्रिभोजको आयोजनाले नेपाल–यूएईबीच व्यापार, लगानी र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने व्यवसायी ढकालको विस्वास छ ।
कार्यक्रममा आयोजकले यूएईका वैदेशिक व्यापार राज्यमन्त्री डा. थानी अहमद अल जेयुदी, नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल, सांसदहरू, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सी, यूएई चेम्बर्स अफ कमर्सका महासचिव हुमैद बिन सालेम, नासेर अल जुनैबी तथा नेपाल र यूएईका सरकारी एवं निजी क्षेत्रका प्रतिनिधिहरूलाई स्वागत गर्दै चन्द्रागिरि भ्रमणलाई नेपालका पर्यटन तथा लगानी सम्भावना प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।
व्यवसायी टोलीलाई स्वागत गर्दै ढकालले निजी क्षेत्रको लगानीमा विकसित चन्द्रागिरि नेपालको प्रमुख पर्यटन गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै यसको माध्यमबाट नेपालको प्राकृतिक सौन्दर्य, आतिथ्यता र पर्यटन पूर्वाधारको सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनका अनुसार नेपाल र यूएईबीच विगत पाँच दशकदेखि विश्वास, मित्रता र आपसी सहयोगमा आधारित सम्बन्ध कायम रहेको छ। सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने भएकाले उक्त अवसरलाई व्यापार, लगानी र आर्थिक साझेदारी विस्तार गर्ने आधारका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा ढकालले यूएईले दूरदर्शी नेतृत्व, लगानीमैत्री नीति, नवप्रवर्तन र खुला अर्थतन्त्रमार्फत हासिल गरेको आर्थिक रूपान्तरण विश्वका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय लगानी, प्रविधि र निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक विकास हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालमा पर्यटन, जलविद्युत्, पूर्वाधार, डिजिटल भुक्तानी तथा फिनटेक, कृषि, उत्पादनमूलक उद्योग र लजिस्टिक्सलगायत क्षेत्रमा व्यापक लगानीको सम्भावना रहेको उल्लेख गर्दै यूएईको लगानी, प्रविधि र अनुभवलाई उपयोग गरी संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने धारणा राखियो। यसबाट दुवै देशमा रोजगारी सिर्जना, आर्थिक वृद्धि र साझा समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता, दोहोरो करमुक्ति सम्झौता तथा व्यापक आर्थिक साझेदारी सम्झौतासम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिँदै ती सम्झौताहरू छिट्टै टुंगिने अपेक्षा व्यक्त गरिएको छ। ती सम्झौताले लगानीकर्ताको विश्वास बढाउनुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रबीचको आर्थिक सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन्। व्यवसायी ढकालले युएईबाट विभिन्न ४१ परियोजनामा लगानी भित्र्याउन पहल समेत गरेका छन् ।
कार्यक्रमको समापनमा चन्द्रागिरि भ्रमणले नेपालको पर्यटन, लगानी र आर्थिक साझेदारीका नयाँ अवसरलाई अझ नजिकबाट चिनाउने अवसर दिएको उल्लेख गर्दै आगामी दिनमा नेपाल–यूएई सम्बन्ध व्यापार, लगानी, नवप्रवर्तन र दिगो विकासका क्षेत्रमा अझ सुदृढ बन्दै जाने अपेक्षा व्यक्त गरिएको छ।









