छैठाैं नैकाप गोल्डकपः आज भीमसेन युथ र महादेव युथ तथा वाणस्थली यूथ र बार्सा नेपालबीच खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करणअन्तर्गत आज पनि २ खेल हुनेछन् ।
आज हुने खेलका विजेता टोलीहरू अन्तिम ८ का लागि छनोट हुनेछन् ।
प्रतियोगिताको दोश्रो चरणअन्तर्गत दिनको पहिलो खेलमा दिउँसो १ बजे पुल ए मा रहेका वाणस्थली यूथ सोसाइटी र बार्सा नेपालबीच खेल हुनेछ ।
वाणस्थलीले पहिलो चरणमा सेतीदेवी यूथ क्लबको चुनाैती पन्छाएको थियो भने बार्सा नेपालले पहिलो चरणमा ल्याक्टो लक्ष्यलाई पराजित गर्दै वाणस्थलीसँगको भेट पक्का गरेको हो ।
यसैगरी आज नै हुने दिनको दोश्रो खेलमा दिउँसो ३ बजे पुल डी मा रहेको भीमसेन यूथ क्लबले महादेव यूथ क्लबको चुनाैती सामना गर्नेछ ।
भीमसेन यूथले पहिलो चरणमा किटीनी भज्याङ्ग यूथ क्लबलाई पराजित गर्दै दोश्रो चरणमा महादेव यूथसँगको भेट पक्का गरेको थियो भने महादेव यूथले पहिलो चरणमा कार्की यूथ क्लबलाई पराजित गरेको थियो ।
प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरुमा प्रतिस्पर्धाविरुद्ध जित हात पार्दै मध्यपुर जागरुक र कुर्दनले अन्तिम ८ मा स्थान सुरक्षित गरेका छन् ।
चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी छैठाैं नैकाप गोल्डकप प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।













