जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब १ सय जनाको जनशक्ति भूकम्प प्रभावित जाजरकोटमा

Thankot Times

थानकोट ।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन थालेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माण लगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई त्यहाँ खटाउन थालेका हुन् ।

नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएको छ ।

शुक्रबार एमालेको भातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब १०० जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ । 

उक्त टोलीले शुक्रवार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३, थाप्लेका भग्नावशेष घरहरूमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ । ‘शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ,’ उनले रातोपाटीसँग भने, ‘खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् । अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउने लगायतका कामहरू गर्नेछन् ।’ प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ताहरू त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाह बताउँछन् ।

नेपाली कांग्रेसले पनि प्रभावित क्षेत्रमा नेता, कार्यकर्ताहरूलाई खटाउने तयारी गरिरहेको छ । यसअघि महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा राहत तथा पुनः निर्माणका लागि अनुगमन तथा सहजीकरण समिति बनेको थियो ।

नेकपा (माओवादी केन्द्र)ले भने प्रभावित क्षेत्रमा २१ सय जनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रदेश कमिटीले नै सो मात्रामा भोलेन्टियर खटाउने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)ले ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाउने गरी तयारी गरेको छ ।

समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार १५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाइने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भने यो विषयमा फरक मत रहेको छ ।

रास्वपाका केन्द्रीय सदस्य एवं सांसद सुमना श्रेष्ठका अनुसार बाहिरबाट मान्छेहरू खटाउनेभन्दा पनि सोही क्षेत्रमा रहेका पार्टीमा आबद्ध व्यक्तिहरूले धमाधम काम गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *