जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह
थानकोट ।
पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिए। उनका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ ।
यसैगरी कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।
पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा निःशुल्क पालको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेका लागि कोषमा दुई हजार एक सय रूपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ ।













