प्रतिनिधिसभा बैठक बस्दै

Thankot Times

थानकोट ।

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक  बुधबार बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, बैठकमा नेपाली कांग्रेका नेता केशव कुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै, आजै राष्ट्रियसभा बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेश कुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्य (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *