सिलिङ रकम घटाइएपछि मन्त्री आलेमगरको चेतावनी- युवा तथा खेलकुद मन्त्रालयको बजेट बन्दैन्

Thankot Times

थानकोट ।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले मन्त्रालयले बजेट नबनाउने बताएकी छन् ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकमा सहभागी मन्त्रीहरूले बजेट सिलिङ कम हुँदा नागरिकको माग अनुसारको योजना समेट्न नसकेको बताएका थिए ।

मन्त्रिपरिषद् बैठकमा समेत सशक्त रूपमा प्रस्तुत हुँदै उनले तत्कालको सिलिङमा मन्त्रालयले बजेट नबनाउने बताइन् ।

प्रदेशको हरेक वडा र पालिकामा खेल मैदान निर्माणको योजना बनाउने सरकारले मन्त्रालयको बजेट सिलिङ ५६ करोडको पठाएको भन्दै असन्तुष्टि उनले व्यक्त गरिन् । अनिवार्य दायित्व बेहोर्ने र गत वर्षको खर्च तिर्न नै नपुग्ने गरी बजेट सिलिङ पठाएका कारण आफूले बजेट निर्माण नगर्ने मन्त्रीपरिषद् बैठकमै बताएको उनको भनाइ छ ।

प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटमा सो मन्त्रालयले १ अर्ब २२ करोड रुपैयाँको सिलिङ पाएको र चालु आर्थिक वर्षको सिलिङमा समेत घटाएर पठाएको उनको भनाइ छ ।

चालु खर्च र नियमित कार्यक्रम बाहेक क्रमागत र बहुवर्षे तथा स्रोत सुनिश्चितता गर्नुपर्ने योजनामा समेत नपुग्ने गरी सिलिङ पठाएकाले बजेट निर्माण नगर्ने उनले बताइन् ।

सो विषयमा मन्त्रालयका कर्मचारीको तलब भत्ता र अन्य खर्चहरूको व्यवस्थापन गर्न अर्थमन्त्रीलाई जानकारी गराएको मन्त्री आलेको भनाइ छ ।

१ अर्ब बजेट सिलिङ प्राप्त नभएसम्म बजेट निर्माण कार्य नगर्न मन्त्रालयमा निर्देशन गरेको उनले प्रस्ट पारिन् । त्यसपछि अर्थमन्त्रीले बजेट सिलिङ थप गरेर पठाउने आश्वासन दिएको उनले बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *