कांग्रेस महाधिवेशन: बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
थानकोट ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि प्रतिनिधिहरू त्यसअघि नै लाइनमा बसेका हुन् ।
हिजो बिहीबार मतदान गर्न नपाएका प्रतिनिधिहरू आज मतदानका लागि तयार भएका छन् । टाढा घर भएका प्रतिनिधि मतदान गरेर दसैँ मनाउन घर पुग्ने योजनामा छन् । यसले कांग्रेस महाधिवेशनका प्रतिनिधिमा फेरि उत्साह थपेको छ ।
प्रतिकूल मौसम र प्राविधिक समस्याका कारण बिहीबार मतदानमा ढिलाइ भएको थियो । साँझ मतदान सुरु गर्दा राति प्रतिनिधिहरूलाई असहज हुने भएकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
उनका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कटुवालले महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको जानकारी दिए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । साँझ मतदान सुरु गर्दा रातभर प्रतिनिधिलाई असहज हुने भएकाले आज बिहानदेखि मतदान सुरु गर्न लागिएको उनको भनाइ छ ।
उनले धेरै मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाले आफूसहित ३२ जना वरिष्ठ अधिवक्ता त्यस काममा खटिएको बताए । उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको हो ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
- राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
- खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
- हिमाल हल — गण्डकी प्रदेश
- तराई–मधेस हल — मधेस प्रदेश
- पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिकाको सुरक्षित व्यवस्थापन र आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढाइनेछ ।
मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।
सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिएको छ । प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी नेतृत्व र संगठनात्मक दिशासमेत निर्धारण गर्नेछ ।













