चन्द्रागिरिको जंगलमा भजन बज्न थालेपछि चित्लाङ र फाखेल पुगे वन्यजन्तु !

Thankot Times

थानकोट ।

हिजो सोमबार थानकोट क्षेत्रमा दिउँसोबाटै भजन सुनिन थाल्यो । साँझ परेपछि सो क्रम झन बढ्यो ।

साउन महिनाको अन्तिम सोमबार माहोल शिवमय बनेको थियो भने शिवभक्तहरु विभिन्न शिवालयहरूमा पुग्ने क्रम जारी थियो ।

चन्द्रागिरि नगरका चन्दन भराटेश्वर, विष्णुदेवीस्थित गोलोकेश्वर लगायतका शिवमन्दिरहरूमा बिहानैबाट श्रद्धालुहरू पूजा अर्चनामा व्यस्त थिए । उसो त विष्णुदेवी क्षेत्रमा सन्ध्याकालीन आरतीमा अपूर्व घुँइचो देखिन्थ्यो ।

चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिर परिसरमा समेत आरती आयोजना गरिएकोमा जहाँ श्रद्धालुहरूको उल्लेख्य भिड लागेको चन्द्रागिरि हिल्सले सामाजिक सञ्जालमा राखेको भिडियो पोष्टहरूमा देख्न सकिन्थ्यो ।

राति ९ बजेसम्म भजन बज्न थालेपछि थाहा भयो सो भजन चन्द्रागिरि केबलकारको खम्बामा बजेको रहेछ ।

उसैपनि चन्द्रागिरि हिल्सको स्थापनासँगै कैयन प्रचलित नियम कानून उल्लघंन भइरहेको भन्ने आवाज उठिरहँदा चन्द्रागिरि केबलकार वरपरका क्षेत्रमा वन्यजन्तु समेत विस्थापित भएकाे महशुस स्थानीयले गर्न थालेका छन् ।

चन्द्रागिरि नगरतर्फको जंगलमा मानवीय गतिविधि बढ्न थालेपछि छिमेकी जिल्ला मकवानपुरको थाहा नगरपालिका तथा इन्द्रसरोवर गाउँपालिकामा वन्यजन्तुका गतिविधि बढेको स्थानीयहरूले बताएका छन् ।

चन्द्रागिरि जंगल क्षेत्रमा राति अवेरसम्म मानवीय गतिविधि सञ्चालन भइरहँदा यस क्षेत्रमा वन्यजन्तुले वासस्थान परिवर्तन गर्ने अवस्था सृजना भएका छन् ।

उसो त केही महिनाअघि चन्द्रागिरि डाँडामा एक वैवाहिक समारोहमा आताशवाजी लगायतका गतिविधि हुँदा सो को सर्वत्र विरोध भएको थियो । चन्द्रागिरि हिल्सले आधिकारिक फेसबुक पेजमा राखेकाे आताशवाजीकाे साे भिडियाेमा चर्काे आलोचनात्मक कमेन्ट आउन थालेपछि फेसबुकबाट हटाइएको थियाे ।

चन्द्रागिरि डाँडामा लगातार आतशबाजी भएपछि.. (भिडिओ)

स्थापना कालमा चन्द्रागिरि हिल्सले रूख विरुवा रोप्ने, वन्यजन्तुको बासस्थलमा कुनै अवरोध नपुर्याउने, जैविक, प्राकृतिक तथा पर्यावरणमा कुनै बाधा, अवरोध र क्षति हुने कार्य नगर्ने प्रतिबद्धता  जनाएको भएपनि सो कार्यान्वयन नभएको पाइएको छ ।

चन्द्रागिरि केबलकार पटकपटक घण्टाै रोकिने समस्या देखिएपछि चन्द्रागिरि हिल्सले केबलकारका सबै खम्बामा आपतकालीन अवस्थामा सूचना प्रवाहका लागि स्पीकर जडान गरेको बुझिएको छ ।

यद्यपी सो को उचित प्रयोग नहुँदा वन्यजन्तुको अधिकार हनन भएको प्रति स्थानीयले चासो र चिन्ता व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *