मुकुल ढकाललाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाहीमा परेका सो पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने? भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

यसअघि रास्वपाले असार २५ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो। त्यसबेला ढकाललाई रास्वपाले पार्टी निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न समय दिएको थियो।

तर उक्त समयमा पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको, पार्टीभित्र भ्रम सिर्जना गर्न खोजेको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरण सोधेको हो।

‘साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

ढकालले केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुझाव पत्र बुझाएका थिए।

रास्वपाले ढकाललाई सदस्यता किन खारेज गर्न नपर्ने हो आफ्ना आधार र प्रमाण तथा भनाइ २४ घन्टाभित्र स्पष्टीकरण दिनसमेत भनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *