परराष्ट्र मन्त्री डा. राणा आज भारत भ्रमणमा जाँदै
थानकोट ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् ।
परराष्ट्र मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।
साथै, यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ ।
उनी भ्रमण पुरा गरि बिहीबार स्वदेश फर्किने तालिका रहेको छ ।










