आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
थानकोट ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मंगलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
सिरिज अन्तर्गत भोलि बिहीबार अमेरिका र स्कटल्याण्डबीच खेल हुनेछ भने शनिबार नेपालले अमेरिकाको सामना गर्नेछ । अन्तिम खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।















