कीर्तिपुरका ३१ हजार मतदाताले भोलि चुन्दैछन नयाँ मेयर, २० स्थानमा मतदान केन्द्र
थानकोट ।
भोलि मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी सकिएको छ ।
चन्द्रागिरिसँग सीमा जोडिएको कीर्तिपुर नगरपालिकामा तीन वटा पदका लागि उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुरमा नगरप्रमुख, वडा नं. १ र वडा नं. ४ मा वडाध्यक्षको पद रिक्त रहेकोले ती पदका लागि निर्वचान हुनेछ ।
अहिले निर्वाचनको माैन अवधि जारी छ । कीर्तिपुर नगरको मेयर पदका लागि ११ स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन् । यद्यपी केही राजनीतिक दल र स्वतन्त्र उम्मदेवारले अन्य दल वा स्वतन्त्र उम्मेदवारको पक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ ।
१० वटा भएको कीर्तिपुर नगरपालिकामा चुनावका लागि २० वटा निर्वाचन केन्द्र तोकिएका छन् । ती मतदान केन्द्रमा ३१ हजार १ सय २२ जना मतदाताले भोट खसाल्नेछन् ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा २६१५ मतदाता रहेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं २ मा २८८८ मतदाता रहेका छन् ।
यस्तै, कीर्तिपुर नगरपालिका वडा नं ३ मा २९०१ मतदाता रहेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं ४ मा ४४५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै कीर्तिपुर नगरपालिका वडा नं ५ मा३३७९ मतदाता छन् ।
कीर्तिपुर नगरपालिका वडा नं ६ मा ४९१५, कीर्तिपुर नगरपालिका वडा नं ७ मा १६१९, कीर्तिपुर नगरपालिका वडा नं ८ मा २१५१ मतदाता रहेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं ९ मा २७८८ मतदाता रहेका छन् भने कीर्तिपुर नगरपालिका वडा नं १० मा ३४१४ मतदाता रहेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको २०८० बैशाखमा र वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको २०८० फाल्गुन महिनामा निधन भएको थियो ।
नगरप्रमुख राजकुमार नकर्मीको गत साउन १० मा निधन भएको थियो ।
यसैबीच निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानका सबै मतदान केन्द्रलाई अतिसंवेदनशील मानेर सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ । भोलि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
उनले सुरक्षाकर्मीको संख्या निर्धारणका लागि मतदान केन्द्र अतिसंवेदनशील, संवेदनशील र सामान्यमा छुटाउने गरिन्छ ।
“अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेको सुरक्षाकर्मीको संख्या किटान गर्नका लागि हो । अहिले सुरक्षाकर्मी पर्याप्त दिन सकिन्छ भने अतिसंवेदनशीलमा राखेर मतादन केन्द्रमा ९ जना खटाउने भन्ने हो,” थपलियाले भने ।
मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।
उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेकोले सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यसैले ४१ पदका लागि मात्रै मतदान हुने छ ।
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।










