उपनिर्वाचनः ०७९ मा पराजित भएका काँग्रेसका बानियाँ कीर्तिपुर वडा नंं ४ को अध्यक्ष निर्वाचित
थानकोट ।
हिजो सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्ला विवरणहरु अनुसार कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना जारी रहँदा वडा नंं १ र ४ को वडाध्यक्ष पदमा विजेता टुंगो लागेको छ ।
वडा नंं १ मा नेपाली काँग्रेसका इच्छा महर्जनले बाजी मारेका छन् भने केहीबेर अघि सम्पन्न वडा नं. ४ को मतगणनामा सोही दलका राजेन्द्र बानियाँ विजयी भएका छन् ।
२०७९ सालको निर्वाचनमा बानियाँ स्वतन्त्र उम्मेदवार श्याम अधिकारीसँग पराजित भएका थिए । अधिकारीको २०८० बैशाखमा दुर्घटनामा परी निधन भएपछि वडा नं. ४ को वडाध्यक्ष पदमा पुनः निर्वाचन भएको हो ।
सो निर्वाचनमा अधिकारी १३८० मतले विजयी भएका थिए भने बानियाँले १०५७ मत ल्याएका थिए ।
यसपटक बानियाँले ११५५ मत पाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार भन्दा ३५० मतले अघि रहँदै दोश्रो पटकमा वडाध्यक्ष पद जित्न सफल भएका हुन् ।










