नेपाल प्रिमियर लिग क्रिकेटः सुदूरपश्चिम रोयल्सको पहिलो हार, चितवन राइनोज ३३ रनले विजयी
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।
सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । इशानले २८ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।
सुदूरपश्चिमविरुद्ध लुम्बिनीका रिजन ढकाल, जान निकोल लोफ्टी इटोन, अमरसिंह रौटेला र कप्तान कुशल मल्लले समान दुई विकेट लिए । रजनले सैब जैब र नरेश साउदको विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।
चितवनका ओपनर हसन एसाखिलले ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।
सुदूरपश्चिमका स्कट कुग्गेलेनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुग्गेलेनले २९ रन खर्चिए । ब्रान्डन म्याकमुलम, कप्तान दीपेन्द्रसिंह ऐरी र सैब जैबले समान एक विकेट लिए ।
प्रतियोगितामा सुदूरपश्चिम यो पहिलो हार हो ।
प्रतियोगिता अन्तर्गत सोमबार कुनै खेल हुने छैनन् ।















