युसिमास विश्व च्याम्पियनसीपमा ब्राइट फ्यूचरका फोनिक्स महर्जनलाई तेस्रो स्थान
थानकोट ।
भारतको नयाँ दिल्लीमा सम्पन्न युसिमास विश्व च्याम्पियनसीप-२०२४ मा नैकापस्थित ब्राइट फ्यूचर माविका छात्र फोनिक्स महर्जनले तेस्रो स्थान हात पारेका छन् ।
डिसेम्बर १४ र १५ मा नयाँदिल्ली स्थित दिल्ली विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा महर्जनले ए-२ क्याटेगोरीमा चाैथो स्थान र विश्व च्याम्पियनसीपमा तेस्रो स्थान हात पारेको ब्राइट फ्यूचर माविले जनाएको छ।
प्रतियोगितामा विभिन्न ३० मुलुकका ५ देखी १३ वर्ष उमेर समुहका ६ हजारभन्दा धेरै विद्यार्थीहरूले विभिन्न युसिमासका विभिन्न तहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट विभिन्न विद्यालयबाट करिब ३० जनाले सहभागिता जनाएका थिए ।
युसिमास गणितीय खेल हो जहाँ ८ मिनेट र २० मिनेटको समयसीमा भित्र गणितीय समस्या हल गर्नुपर्ने हुन्छ ।विद्यार्थीको उमेर अनुसार तहगत रुपमा यसको प्रतिस्पर्धा निर्धारण हुने गर्दछ ।
युसिमास के हो ?
युसिमास पढाइको सुरुमा अबाकसलाई हातमा राखेर गणितीय ज्ञान सिकाइन्छ ।
अबाकस भनेको एउटा काठको फ्रेम हो । जसमा गोला गुच्चाजस्ता दानाहरू (बिड्स) राखिएका हुन्छन् । यिनै दाना तलमाथि सारेर गणितका विभिन्न परिणाम जनाउने र योगफल निकाल्ने गरिन्छ । विद्यालयमा नियमित सिकाइनेभन्दा युसिमासमा सिकाइने गणितीय पद्धति भिन्न हुन्छ । युसिमासको अध्ययन अबाकसका माध्यमबाट गरिन्छ । यसमा लेख्ने, बस्ने, अबाकस समाउने, पेन्सिल समाउने, औंला चलाउने र हिसाब गर्ने बेग्लै नियम हुन्छन् । अबाकस सिक्ने विद्यार्थीको कुर्सी र टेबुलको पनि दूरी निश्चित हुन्छ । शरीर सीधा हुने गरी टेबुलमा अबाकस राखिन्छ । अबाकसलाई ४ अंगुलको दूरीमा राखेपछि बिड्स तलमाथि गरी हिसाब निकालिन्छ । सबै औंला निश्चित स्थानबाट चलाइन्छ । अबाकसलाई दुई भागमा बाँडिएको हुन्छ । माथिल्लो भाग र तल्लो भाग ।कतिपयले माथिल्लोलाई स्वर्ग र तल्लोलाई धर्ती भन्ने गर्छन् ।

अबाकसको माथिल्लो बिड्सको मान ५ मानिन्छ । तलका प्रत्येक बिड्सको मान १ मानिएको हुन्छ ।
अबाकसमा हिसाब गर्दा हातले लेख्ने हो त्यही हातको हत्केलामा कलमलाई बूढीऔंला र चोरऔंलाको कापमा च्यापेर समातिन्छ ।
लेख्ने बेलामा भने नियमितझैं कलम समाइन्छ । तल्ला बिड्स अर्थात् १ मान भएकालाई दुवै हातका बूढीऔंलाले माथि सारिन्छ भने माथिबाट तल सार्न चोरऔंला प्रयोग गरिन्छ । माथिको बिड्सलाई माझीऔंलाले तलमाथि सारिन्छ । सुरुमा बानी बसाल्न अभ्यास गर्नुपर्छ । बिस्तारै विद्यार्थीलाई यसको बानी बस्छ । अभ्यास बढाउँदै लगेपछि विद्यार्थीलाई जोड, घटाउ, गुणन, भाग गर्न अबाकस र क्यालकुलेटर आवश्यकता पर्दैन । उनीहरू मनमनै ठूला हिसाबकिताब गर्न सक्ने हुन्छन् । युसिमास शिक्षाबाट विद्यार्थीमा फरक खालको क्षमता विकास हुन्छ भन्ने यस क्षेत्रमा लागेकाहरूको विश्वास छ ।
अबाकस ईसापूर्व २ हजारदेखि ५ हजारतिर चीन, इजिप्ट र ग्रिसमा प्रयोग भएको मानिन्छ । यसलाई कम्प्युटर इतिहास अघिको हिसाब गर्ने प्रभावकारी साधनका रूपमा पनि चिनिन्छ । यसबाट लामा र जटिल हिसाब पनि छिट्टै र सजिलै गर्न सकिन्छ । अबाकसलाई चीन र जापानका व्यापारीले अझै प्रयोग गरिरहेको पाइन्छ ।
जापानमा विद्यालय शिक्षामा समेत यसलाई समावेश गर्न थालिएको छ । मानिसको मस्तिष्क दायाँ र बायाँ हुन्छ । विद्यालयहरूमा सामान्यत: बायाँ दिमागको प्रयोग बढी हुन्छ । तर, युसिमास पढ्ने बालबालिकाको भने दायाँ, बायाँ दुवै दिमागको सक्रिय हुने विज्ञहरूको भनाइ छ ।
युसिमासको अध्ययन ५ देखि १३ वर्ष समूहका बालबालिकाका लागि बढी लाभदायी छ । यो उमेर अवधिमा उनीहरूको मस्तिष्कका कोषहरू पूर्ण विकसित भइसकेका हुन्छन् ।
सिकाइ र शारीरिक वृद्धिका कारण यही उमेर समूह उपयुक्त मानिन्छ ।
नेपालमा युसिमासको १०औं तहसम्म पढाइ हुन्छ । एउटा तहका लागि १२ साताको पाठयक्रम तय गरिएको छ । दसाैं तह पूरा भएपछि ग्रयाजुएट (दीक्षित) भइन्छ ।
पछिल्लो समय नेपालका विभिन्न विद्यालय तथा संस्थाहरूले युसिमास कक्षा सञ्चालन गरिरहेका छन् । चन्द्रागिरि नगरमा ब्राइट फ्यूचर माविले प्राथमिक तहमा युसिमास कक्षा सञ्चालन गर्दै आएको छ ।
















