प्रा.डा. सुरेन्द्र केसीको कटाक्ष: सतुङ्गल-मातातिर्थ सडक तातोपानी सडक भन्दा खराब !
थानकोट ।
सतुङ्गल-मातातिर्थ सडकको अवस्थाप्रति प्राध्यापक डा. सुरेन्द्र केसीले कटाक्ष गरेका छन् ।
नेपाली समाजमा विदेशी सहायतामा बन्ने र बनेका आयोजनाहरूको दीगोपना कायम हुन नसक्नुमा समाजको समेत दोष रहेको उनको भनाइ छ ।
किन नेपालमा विदेशी सहायताका परियोजना सफल हुन सक्दैनन् भन्ने एक सञ्चार माध्यमको प्रश्नमा डा. केसीले मातातिर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको उदाहरण दिँदै भनेका छन चीन सरकारको सहयोगमा बनेको सो प्रतिष्ठान देशकै रोल मोडल परियोजना हो । जुन सबै दृष्ट्रिकोणबाट प्रसंशनीय छ । तर प्रतिष्ठानसम्म पुग्ने सडक भने नेपालमा भएका खराब सडक मध्ये एक हो ।
करिब ३.६ किलोमिटर दूरीको सतुङ्गल-मातातिर्थ (राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान) सडक निकै सकसपूर्ण रहेको प्रयोगकर्ताहरूको अनुभव छ ।
सतुङ्गल चोकबाट मातातिर्थ हुँदै हेटाैंडासम्म पुग्न सोही सडक प्रयोग हुने हुँदा सतुङ्गल-मातातिर्थ सडकमा दिनहुँ साना तथा मझाैला सवारी साधनको लाम लाग्ने गरेको छ ।












