टाईगर कप भलिबलः चन्द्रागिरिको न्यू डायमण्ड एपीएफसँग सोझो सेटमा स्तब्ध
थानकोट ।
पोखरामा जारी टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा सोमबार सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा सोमबार भएको दिनको पहिलो खेलमा एपीएफले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२१ ले जित्यो ।
यस्तै पुलिसले थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडलाई ३–१ को सेटमा हरायो ।
ट्राभल इन्क्वायरीले पहिलो सेट २५–२३ ले जित्यो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।
गण्डकी प्रदेश टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको पाँचौं संस्करण प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।
प्रतियोगिता अन्तर्गत आज मंगलबार लिग चरणका चार खेल हुँदैछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन आज महिला र पुरुषतर्फ २-२ खेल हुने तालिका छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेदेखि शुरू हुनेछ ।
पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा विहान पौने ११ बजे महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ ।
पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफबीच पौने १ बजे शुरू हुनेछ । पुरुषतर्फको दोस्रो खेलमा दिउँसो पौने ३ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।













