नैकापमा आयोजित गैर-नेवार नेपाल भाषा वतृत्वकला प्रतियोगितामा मोनिका लामा प्रथम
थानकोट ।
चन्द्रागिरि नगरस्तरीय गैर-नेवार नेपाल भाषा वतृत्वकला प्रतियोगितामा सतुङ्गलकी मोनिका लामाले पहिलो स्थान हात पारेकी छन् ।
चन्द्रागिरि नगर दुने नेवाःतय्गु अवस्था (चन्द्रागिरि नगरमा नेवारहरूको अवस्था) शीर्षकमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ सँगको सहकार्यमा शनिबार नैकापस्थित बन्थोकमा वी नेवार्स समुहले आयोजना गरेको प्रतियोगितामा सहभागी भएका १४ जना मध्ये श्रीमिला सुवेदी दोश्रो हुँदा आशाकुमारी आनन्द तेस्रो भइन् ।
प्रतियोगिताका विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
नगर क्षेत्रमा रहेका नेवारहरुको अवस्थाको बारेमा गैर नेवारहरुको बुझाइ र प्रस्तुति कार्यक्रममा समेटिएको थियो ।
कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाले नेवार समुदायको पहिचान र इतिहास तथा संस्कृति संरक्षणमा लगानी गर्दै आएको बताए । नेवारहरुको जात्रा पर्व, भेषभूषा, बाजागाजा संरक्षण र संवर्द्धननका लागि नगरले गरेको कार्यको चौतर्फी तारिफ भएको धारणा राखे । नेवार समुदायको संस्कृति, खानपान, भेषभूषा, बाजागाजा र जात्रा पर्वलाई पयर्टन रोजगार र आय आर्जनसँग जोड्नुपर्ने धारणा राख्दै नगरप्रमुख गिरीले नेवार सभ्यता र चन्द्रागिरिको सम्बन्धका बारेमा समेत चर्चा गरेका थिए ।
यस्तै, नगर उपप्रमुख बसन्ती श्रेष्ठले नेवार समुदायका युवापुस्तापनि पछिल्लो समय पाश्चात्य संस्कृतितिर ढल्किदै जादाँ यदाकदा आफ्नोपन बिर्सदै गएको जस्तो महशुस हुन थालेको धारणा राखिन् ।आफ्नो पहिचान बचाउने र समुन्नत रुपमा पुस्तान्तरण गर्नु पर्नेमा नगर उपप्रमुख श्रेष्ठको जोड थियो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजभाइ महर्जनले नेपाल भाषाको प्रवर्द्धनमा वी नेवार्स लगायत विभिन्न संघसंस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
नेपाल भाषालाई गैर नेवारहरुको बीचमा लैजान यस खालका सृजनशील कार्यक्रमले अनुकरणीय भूमिका खेल्ने बताउँदै वडाध्यक्ष महर्जनले नेवार समुदाय र गैर नेवारबीच सदियाैंदेखि स्थापना भइरहेको सद्भाववा र आत्मियता बढाउन रचनात्मक कार्यक्रम जारी राखिने बताए ।
कार्यक्रमका प्रतियोगीहरुको विषय वस्तुप्रतिको बुझाई, हाउभाउ, नेवारी व्याकरणको प्रयोग, नेवारी लवज, शब्द उच्चारण लगायतका पक्षलाई मुल्यांकन गरि विजेता घोषणा गरिएको वडाध्यक्ष महर्जनको भनाइ छ ।
श्रीकृष्ण महर्जन, कृष्ण प्रजापती तथा यशोदा पाण्डेले कार्यक्रममा निर्णायकको भूमिका निभाएका थिए ।












