आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव
थानकोट ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार अनुसार स्थानीय तह उपप्रमुख वा उपाध्यक्षले आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेश गर्नुपर्ने प्रावधान छ ।
तर, चन्द्रागिरि नगरमा भने इतिहासमा पहिलोपटक नगरप्रवक्ताले नगर सभामा वार्षिक बजेट वाचन गरेका छन् ।
स्रोत अनुमान बिना बजेट ल्याइएको भन्दै नेकपा एमालेबाट निर्वाचित उपमेयरसहित, कार्यपालिका र नगर सभा सदस्यहरूले चन्द्रागिरि नगरपालिकाको नगरसभा बहिष्कार गरेपछि सभाध्यक्ष एवं मेयर घनश्याम गिरीको अनुमतिमा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले नगरको १६औं नगर सभाको दोश्रो बैठकमा आइतबार आर्थिक वर्ष २०८२-८३ का लागि अनुमान गरिएको बजेट वाचन गरेका हुन् ।

आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि चन्द्रागिरि नगरपालिकाले २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
जसमा आन्तरिक आयतर्फ १ अर्ब ४८ करोड, राजश्व बाँटफाँटबाट ५५ करोड ९७ लाख ४५ हजार, संघीय सरकारबाट प्राप्त ८१ करोड २९ लाख, बागमती प्रदेश सरकारबाट वित्तिय हस्तान्तरणतर्फ प्राप्त हुने ८ करोड १९ लाख ५५ हजार गरी जम्मा २ अर्ब ९३ करोड ४६ लाखको आय अनुमान गरिएको प्रवक्ता खड्गीले जानकारी दिए ।
यस्तै, व्ययतर्फ चालु खर्च १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत तर्फ १ अर्ब ७० करोड ६८ लाख गरी जम्मा २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले कुनैपनि स्थानीय तहमा उप प्रमुखले सभामा वार्षिक बजेट पेश गर्ने उल्लेख भएपनि चन्द्रागिरि नगरमा पहिलोपटक क्रम भंगता भएको हो ।
नगर सभा अन्तर्गतको बजेट सभा बहिष्कार गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रमुख बसन्ती श्रेष्ठले उपप्रमुख संयोजक रहने राजश्व परामर्श समितिले अनुमान गरेको भन्दा कैंयन गुणा बढी बजेट ल्याएको भन्दै असन्तुष्टी व्यक्त गरिन् । चालु वर्षकै करोडौं भुक्तानीहरु बाँकी रहेकोले अब आउने लागेको बजेट पनि सोही परिस्थिति दोहोरिने हुँदा आफुहरूले बजेट बहिष्कार गरेको उपप्रमुख श्रेष्ठको भनाइ छ । नगरबासीहरूको हीतका लागि नै आफुहरूले बजेट सेसनको भद्र अवज्ञा गरेको नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूको प्रतिक्रिया छ ।
चन्द्रागिरि नगरपालिका नगर सभामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व रहेको छ । जसमा नेपाली काँग्रेसबाट मेयरसहित ४० जना, नेकपा एमालेबाट उपमेयरसहित २९ जना र नेकपा माओवादी केन्द्रबाट १० जना रहेका छन् ।
नगर सभाको तेस्रो बैठक यहि साताभित्र बसी बजेट पास गर्ने नगरप्रमुख घनश्याम गिरीको तयारी छ ।












