नाउपाबाट राज्यमन्त्री बनेका चौधरीले आज राजीनामा बुझाउँदै
थानकोट ।
संघीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउने भएका छन् ।
प्रधानमन्त्री ओली हुम्लाबाट फर्केपछि राज्यमन्त्रीले उनलाई राजीनामा पत्र बुझाउने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट पनि फिर्ता हुने निर्णय गरिसकेको छ, सोही अनुसार आज राज्य मन्त्री चौधरीले राजीनामा दिन लाग्नुभएको हो ।’
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते पदबाट बर्खास्त गरेका थिए । पार्टीसँग कुनै सल्लाहै नगरीकन, बिना कारण आफ्नो मन्त्रीलाई हटाएको भन्दै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ ।












