काठमाडाैं जिल्लाव्यापी कविता लेखन प्रतियोगितामा चन्द्रागिरिका तीन विद्यालय शीर्ष १० मा

Thankot Times

थानकोट ।

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा काठमाडाैं जिल्ला प्याब्सनको आयोजना तथा चन्द्रागिरि नगर प्याब्सनको संयोजनमा आइतबार सम्पन्न जिल्लाव्यापी कविता लेखन तथा वाचन प्रतियोगितामा लालिगुराँस नेशनल एकेडेमीमा अध्ययनरत जोहाना केसी पहिलाे भएकी छन् ।

सतुङ्गलस्थित आँगन रिशेप्सनमा सम्पन्न प्रतियोगितामा काठमाडाैं जिल्लाका विभिन्न विद्यालयका ३७ जनाले भाग लिएका थिए । जसमा उज्वलतारा स्कुलका प्राज्ञिक खतिवडा दाेश्राे भए ।

स्वर्णिम स्कुलकी अस्मिता आचार्य तेस्रो भइन् ।

जुगल नव गुरुकुल स्कुलकी स्नेहा राई, घटराज मेमोरियल स्कुलकी अपश्वी सापकोटा, इडन ब्रीज एकेडेमीकी खुशीपल परियार, बेबीलाेन नेशनल स्कुलकी शुरभी पाैडेल, चन्द्रागिरिको हाइ न्यू भिजन एकेडेमीका आदर्शविज्ञान खड्का, चन्द्रागिरिको एआई स्कुलका सम्पूर्ण काफ्ले र चन्द्रागिरिकै ब्राइट फ्यूचरकी प्रिशा लेखकले सान्त्वना स्थान हात पारे ।

प्रतियोगितामा काठमाडाैं जिल्लाका १० वटा स्थानीय तहभित्रका प्याब्सनका सदस्य विद्यालयले सहभागिता जनाएका थिए । 

प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ र तेस्रो स्थान हात पार्नेले ५ हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक धन बहादुर पुनले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाबाट सो प्रतियोगितामा चार वटा विद्यालयका ४ जना विद्यार्थीले भाग लिने अवसर पाएको चन्द्रागिरि नगर प्याब्सन अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

प्रतियोगिताका विजेता तथा सहभागीहरूका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतले पुरस्कार वितरण गरे । 

यस्तै, कार्यक्रमका दाैरान नेपाली साहित्यिक जगतमा पुर्याएको योगदानका लागि कवि प्रेमकुमार राई ‘परिक्षित’ लाई प्याब्सनको तर्फबाट सम्मानपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

भानुजयन्तीका अवसरमा काठमाडाैं प्याब्सनले विगत तीन वर्षदेखी विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *