थानकोट अस्पताललाई कोइकाबाट १४ लाख रुपैयाँ बराबरको सहायता सामाग्री सहयोग
थानकोट ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) अलुमनि (कान)ले चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
बुधबार थानकोटस्थित अस्पताल हातामा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीलाई कोइका नेपाल कार्यालयका नेपाल निर्देशक मोहिवन कोङ तथा कानका सभापति नवराज गाैतमले संयुक्त रुपमा २० प्रकारका उपकरण हस्तान्तरण गरेका हुन् ।
ती उपकरणको मूल्य १४ लाख ४ हजार ८ सय ९५ रुपैयाँ रहेको बताइएको छ ।
अस्पतालका ती संस्थाबाट सहयोग प्राप्त अत्यावश्यक स्वास्थ्य उपकरण बुझेपछि नगरप्रमुख घनश्याम गिरीले प्राप्त उपकरण सेवाग्राहीहरूको हितका लागि यथोचित उपयोग हुने बताए । नगरबासीहरूको स्वास्थ्य अवस्थाको हेरविचार नगरपालिकाले प्रथम प्राथमिकता रहेको जनाउँदै नगरप्रमुख गिरीले अस्पतालमा निकट भविष्यमा माइनर शल्यक्रिया सेवा तथा डायलासिस सेवा सुरु हुने जानकारी दिए ।
चन्द्रागिरि नगरबासीहरूको स्वास्थ्योपचारका लागि सहयोग पुग्ने हेतुले दुवै संस्थाको लगानीमा ती अत्याधुनिक उपकरण सहयोग एवं हस्तान्तण गरिएको कोइका नेपाल कार्यालयका नेपाल निर्देशक मोहिवन कोङले बताए ।
सो क्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगरका अन्य कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरू लगायतको उपस्थिति थियो ।
हाल चन्द्रागिरि नगर अस्पतालमा १५ शैया सञ्चालनमा छन भने, प्रयोगशाला, २४सै घण्टा आकस्मिक कक्ष सेवासहित बर्थिङ सेवा, विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध भइरहेको छ ।
नगर अस्पतालको क्षमता वृद्धि गर्न हाल सो स्थानमा नयाँ भवन निर्माण भइरहेको छ भने अस्पताल हाता नजिकै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा करिब एक अर्बमा लागतमा परोपकार प्रसुति एवं स्त्रीरोग अस्पताल निर्माण हुने प्रकियामा रहेको छ ।
बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पाैडेलले २०७८ बैशाख २८ गते चन्द्रागिरि नगर प्राथमिक अस्पतालको उद्घाटन गरेका थिए ।
गत महिना लायन्स क्लबले सो अस्पतालका लागि ७ वटा डायलासिस मेसिन तथा अत्यावश्यक उपकरण सहयोग गरेको थियो ।
थानकोट अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै, एकैसाथ ७ वटा डायलाइसिस मेसिन उपहार
स्वास्थ्य बीमा बोर्डले थानकोट अस्पतालसहित ३८४ वटा स्वास्थ्य संस्थालाई तोक्यो प्रथम सेवा विन्दु












