नागढुंगा नाकाबाट दुई जना पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला बस्ने ४० वर्षीय इम्तीयाज राइन खान र ललितपुरको पाटन मंगलबजार बस्ने, सिराहाको धनगढीमाई नगरपालिका–१० घर भएका २० वर्षीय राज सिंह रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागढुंगा चेकप्वाइन्टमा जनकपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ख २६८७ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त बसको डिक्कीमा झोला र टिनको ट्याङ्कमा लुकाइएका लागुऔषध फेला परेका हुन्।

प्रारम्भिक सोधपुछमा खानले ती लागुऔषध पाटन मंगलबजार बस्ने राज सिंहले मगाएको बताएका थिए। खानलाई साथमा लिएर खोजतलास गर्दा सिंहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट नाइट्राभ्याट १५,००० ट्याबलेट, ट्रामाडोल ४,५०० क्याप्सुल, नुफिन ७७० एम्पुल, फेनरागन ७३० एम्पुल, डाईजापाम ७३० एम्पुल र मोबाइल फोन एक थान बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *