यू-२३ एसिया कप छनोट: नेपालको लगातार दोश्रो हार, सिरियासँग ४-२ ले पराजित
थानकोट ।
एएफसी यू-२३ एसिया कप छनोट चरणमा लगातार दोस्रो हार व्यहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा शनिबार राति नेपाल सिरियासँग ४-२ ले पराजित भयो।
यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो।
खेलमा सिरियाले २६ औं मिनेटमा अलमुस्ताफा मोहम्मदको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको सिरिया विरुद्ध दोस्रो हाफमा नेपाल खेलमा फर्किएको थियो। तर अन्तिम केही मिनेटमा लगातार २ गोल खान पुग्दा नेपाल संभावित जितबाट बन्चित भयो।
दोस्रो हाफमा नेपालका लागि निराजन धामीले ५६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। १० मिनेट पछिनै नेपालले अग्रता बनाउने क्रममा सुमित श्रेष्ठले गोल गरे। खेलमा २-१ को पुनरागमन गरेपनि नेपालको उक्त अग्रतालाइ सिरियाले लामो समय टिक्न दिएन। सिरियाका अलरिना अलीले ७२ औं मिनेटमा पुन सिरियालाई बराबरीमा ल्याएका थिए।
त्यसपछिपनि सिरियाले खेलमा आफ्नो प्रभावसाली प्रदर्शनलाइ निरन्तरता दिंदा ८१ औं मिनेटमा अग्रता बनायो। यो पटक कप्तान अलस्वादम महमौदले गोल गरे। टिमको जित निश्चित गर्ने क्रममा निर्धारित समयको अन्तिम मिनेटमा नयफ महमौदले गोल गरेका थिए।













