जेन-जी आन्दोलनमा छोरा गुमाएपछि एक्लो भइन् चन्द्रागिरिकी ७० वर्षीया सावित्री

थानकोट ।

गत मंगलबार (भदौ २४ गते) खाना खाएर घरबाट निस्किएका थिए चन्द्रागिरि नगरपालिका-५ आकाशटोलका ४० वर्षीय महेन्द्र परियार ।

साँझ अबेरसम्म नभेटिएपछि सोधीखोजी गर्न थालिएको उनका आफन्त भाई गणेश परियारले बताए ।

सोधखोजकै क्रममा चन्द्रगिरि नगरपालिका-०५ दाउरा डिपो खानेपानी चोकस्थित विशाल ग्रुपको गोदाम भवनमा महेन्द्र जलेको अवस्थामा भेटिएको गणेशले बताए ।

थानकोट चेकपोष्टस्थित आगलागी भएको गोदाममा एक पुरुष मृत फेला

‘२६ गते मात्र फेला पार्‍यौं । अनुहार, शरीर पूरै जलेको रहेछ । के कसरी घटना भयो केही थाहा भएको छैन,’ उनले भने, ‘कसले किन र कसरी यस्तो घटना घटायो केहि बुझ्न सकेको छैन ।’

दुई दिनसम्म सेना, प्रहरी सबैतिर बुझ्दा पनि तेस्रो दिनमा मात्र शव फेला पारेको उनको भनाइ छ । त्रिवि शिक्षण अस्पतालमा टिचिङमा पोष्टमार्टम गरेर आइतबार उनको पशुपति आर्यघार्टमा अन्यष्टि गरिएको छ ।

७० वर्षीया आमा सावित्री पनि छोराको मलामीमा सहभागी भएकी थिइन् ।

महेन्द्र सावित्रीका एक्ला सन्तान हुन् । ‘उहाँ एउटा मात्र छोरा गुमाउनुपर्दाको साह्रै ठूलो शोकमा हुनुहुन्छ । आफन्तले बल्लतल्ल पशुपतिसम्म ल्याएका छन्,’ उनले भने । आमाले मृत छोराको अन्तिम अवस्था हेर्छु भनेपछि चित्त बुझाउन पशुपति लगेको उनले सुनाए ।

एक्ला छोरा गुमेपछि पुत्र शोकमा रहेकी आमालाई हामी पनि छोरा हौं नि भनेर वचन दिएको उनको भनाइ छ ।

वृद्ध अवस्थाकी आमाको एक्लो सहारा महेन्द्र रहेको चन्द्रागिरि नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले बताए ।

‘सिलाई कटाई र घर निर्माणमा दैनिक ज्याला मजदुरी गरेर उनले आमाको रेखदेख, पालन पोषणा गर्दै आएका थिए । मेरो छिमेकमै उनीहरुको घर छ । छोरा बितेपछि आमाको हेरविचार गर्ने कोही छैन’, उनले भने ।

दाजुभाई खलक भए पनि अरु सन्तान नभएकको मर्हजनले सुनाए । एक्ली बनेकी सावित्रीलाई सरकारले सहयोग गर्नुपर्ने वडा अध्यक्ष महर्जनको भनाइ छ । २३ गतेको जेन-जी विद्रोहमा बानेश्वरमा राज्यबाट युवाहरु मारिएपछि २४ गतेको प्रदर्शनमा उनी सहभागी हुन गएका थिए ।

‘कपडा सिलाई बुनाईको काम छाडेर घरबाट गएको रहेछन् । राति ८-९ बजेसम्म घर नर्फकिएपछि खोजी हुन थाल्यो,’ महर्जनले भने, ‘जलेको अवस्थामा शव फेला परेर अन्त्येष्टि भएको छ,’ उनले भने, ‘के कसरी भयो । प्रहरीले अनुसन्धान गर्दै होला । सरकारले पनि छानबिन गर्छ होला ।’

-सुदिप कैनी


Leave a Reply

Your email address will not be published. Required fields are marked *