निजी क्षेत्रमा १३ हजार रोजगारी प्रभावित, चन्द्रागिरिका ३ वटा कम्पनीका मात्रै १५ सय ‘बेरोजगार’
थानकोट ।
गत साता भएको प्रदर्शनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण मुलुकभर निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा १३ हजारभन्दा बढी रोजगारी प्रभावित भएको पाइएको छ ।
यो धेरै रोजगारी प्रदान गरिरहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या हो ।
आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ । यद्यपि उल्लिखित व्यावसायिक घरानाले आफ्नो व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन् । यसकारण कर्मचारीको रोजगारी गुम्नेभन्दा पनि केही समयका लागि प्रभावित भएको हो ।
मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् ।
तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ शाखा तोडफोड भए पनि सञ्चालनमा आइसकेका छन् । बाँकी १२ शाखा आगजनीबाट पूर्ण ध्वस्त छन् । ती हाल सञ्चालनमा छैनन् । यसकारण भाटभटेनीमा पुगेको क्षतिबाट करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान गरिएको छ । यद्यपि सुपरमार्केटले कुनै पनि कर्मचारीलाई रोजगारीबाट नलिकाल्ने र तत्काल अरु शाखामा काम दिने बताएको छ ।
होटल संघ नेपाल (हान) को तथ्यांकअनुसार नेपालका होटल तथा आतिथ्य क्षेत्रमा क्षति पुर्याएपछि दुई हजार हाराहारीको रोजगारी प्रभावित भएको छ । करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको हानको प्रारम्भिक आकलन छ ।
नेपालले आगामी सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउँदै छ ।
यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विश्वसमक्ष सशक्त सन्देश दिनुपर्ने हानको आग्रह छ । सीजी होल्डिङ्स, सीडी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायत व्यावसायिक घरानामा गरी करिब ५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको
र अहिले त्यो प्रभावित भएको स्रोतको भनाइ छ । काठमाडौंको चन्द्रागिरि र नवलपरासीको मौलाकालिका केबलकारमा तोडफोड हुँदा करिब ६ सय रोजागरी प्रभावित भएको बताइएको छ । चन्द्रागिरी केबलकारमा करिब साढे ३ सय र मौलाकालिका केबलकारमा करिब २ सय रोजगार छन् ।
आइतबारसम्म प्राप्त तथ्यांकअनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र एक्सटेन्सन काउन्टरमा तोडफोड तथा आगजनी भएको छ । तीमध्ये २५ शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर छन् । ती शाखा तथा एक्सटेन्सन काउन्टरमा धेरै क्षतिको विवरण भने छैन । क्षति पुगेको भनिएकामध्ये एउटा झ्यालको सिसा फुटेकोदेखि आगजनी भएकासम्म छन् । एउटा शाखा र काउन्टर स्थापना गर्दा लाग्ने खर्च समान हुँदैन । बैंकहरूले ग्राहकको चाप, आफ्नो गुडविललगायत आधारमा शाखामा खर्च गर्ने गरेका हुन्छन् । शाखा तथा एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीको संख्यामा पनि एकरूपता हुदैन । सामान्यतया बैंकको एक शाखामा न्यूनतम ३ देखि २० जनासम्म कर्मचारी रहन्छन् ।
एक्सटेन्सन काउन्टरमा २ देखि ३ जनासम्म कर्मचारी हुन्छन् ।
एउटा शाखा वा काउन्टरमा क्षति पुग्दैमा ती कर्मचारीको रोजगारी गुम्यो भन्ने हुँदैन । सीधै बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएका घटना कम छन् । सरकारी कार्यालय मालपोत, यातायात, राजस्व कार्यालयलगायत स्थानमा रहेका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको बताइएको छ । सरकारी तथा निजी संस्थामा आगजनी तथा तोडफोड हुँदा तिनका छेउमा रहेका बैंकका शाखा, काउन्टर र एटीएम बुथमा क्षति पुगेको देखिन्छ ।
प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ शाखा र ६९ एटीएममा क्षति पुर्याएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताए । अर्थ मन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा सोमबार गभर्नर पौडेलले यस्तो बताएका हुन् । ‘प्रदर्शनका कारण बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो, जे घटना घट्यो, त्यो ज्यादै दुःखद छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ,’ उनले भने । यति धेरै शाखा र एटीएम बुथमा क्षति पुगे पनि हालसम्म मानवीय क्षति, नगद चोरी तथा लुटपाटका घटना नभएको राष्ट्र बैंकले जनाएको छ ।
निजी लगानीका धेरै आवास, उद्योग, व्यवसाय, संघसंस्थालगायतमा पनि तोडफोड तथा आगजनी भएको छ ।
प्रदर्शनका क्रममा उद्योगीका निजी आवासदेखि व्यावसायिक संघसंस्थाका भौतिक संरचनामा ठूलो संख्यामा क्षति पुगेकाले त्यहाँ पनि रोजगारी प्रभावित भएको हुन सक्ने अनुमान छ ।
प्रदर्शनकारीले आधा दर्जनभन्दा बढी शैक्षिक संस्थामा पनि आगजनी तथा तोडफोड गरेका छन् । खुमलटार र बाँसबाँरीस्थित युलेन्स, पुरानो बानेश्वरस्थित ग्लोबल कजेल अफ म्यानेजमेन्ट, कालोपुलस्थित जेभियर इन्टरनेसनल, कुपान्डोलस्थित नाइटिंगेललगायत शैक्षिक संस्थामा आगजनी तथा तोडफोड गरिएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोक भण्डारीले जनाए । यी लगायत के–कति संस्थामा पनि धेरै रोजगारी प्रभावित भएको बताइएको छ ।
सतुङ्गलस्थित चाैधरी ग्रुपका विभिन्न ५ कम्पनीमा करिब ७५० जना कार्यरत थिए भने चेकपोष्ट खानेपानी चोकस्थित विशाल ग्रुपको गोदाममा सयाैं स्थानीयहरूले रोजगारी पाएका थिए ।












