मन्त्री घिसिङद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण, एनपीएलअघि नै सबै काम सक्न निर्देशन

Thankot Times

थानकोट ।

भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले आज काठमाण्डौको कीर्तिपुरमा निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।

मैदानको निरीक्षणपछि मन्त्री घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै पहिलो चरणको काम लगभग सकिएको पाएको बताउनुभयो । फ्लडलाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिबद्धता आएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री घिसिङले झन्डै १२ हजार दर्शक बसेर हेर्न मिल्ने प्यारापिट बनेको बताउनुभयो । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताउँदै घिसिङले नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट अगाडि सबै काम सक्न पनि निर्देशन दिनुभयो । दोस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर १ गतेदेखि शुरू हुँदैछ ।

यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र एनपीएलका लागि भनेर काम धमाधम भइरहेको बताउनुभयो । उहाँले फ्लडलाइट नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *