एएफसी एसियन कप छनोट: नेपाल भियतनामसँग ३–१ ले पराजित

Thankot Times

थानकोट ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भियतनामसँग ३–१ को हार बेहोरेको छ ।

बिहीबार हो चिमिन सहरको गो डाउ रंगशालामा सम्पन्न खेलमा नेपालले भियतनामलाई जित दिलाउन नग्युएन टिन लिन, फाम ट्वान हाइ र एनगुएन भान भीले गोल गरे ।

खेलको पहिलो हाफमा नेपालले घरेलु टिमलाई एक–एकको बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्‍यो ।

खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले भियतनामलाई अग्रतामा ल्याएका थिए ।

खेलको १७औँ मिनेटमा नेपालले सेटपीस अवसरलाई गोलमा परिणत गर्‍यो ।

मिडफिल्डर रोहन कार्कीको फ्रिकिकमा राइटब्याक सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । अन्तर्राष्ट्रिय फुटबलमा सनिसको यो पहिलो गोल हो ।

पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । नेपालका लाकेन लिम्बुले पेनाल्टी बक्स नजिकै विपक्षी खेलाडीलाई फउल गरेका थिए ।

सोहीकारण रातो कार्डको दर्शन गर्दै उनी मैदानबाट बाहिरिए ।

रक्षक फाम ट्वान हाइको गोलमार्फत भियतनामले खेलको ६७औँ मिनेटमा पुनः अग्रता लियो । पाँच मिनेटपछि नै भियतनामले अर्को गोल थप्यो ।

भियतनामका एनगुएन भान भीले गोल गरे ।

छनोट प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल हाल अंकतालिकाको पुछारमा छ ।

दोस्रो जित हासिल गरेको भियतनामले लगातार तेस्रो संस्करण एसियन कपमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । भियतनाम यो जितसँगै दोस्रो स्थानमा यथावत छ ।

तस्बिर: एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *