विश्वकप क्रिकेट लिग-२: नेपाल र अमेरिकाबीच आज खेल हुँदै

Thankot Times

थानकोट ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ ।

यो शृङ्खलाको पहिलो खेलमा आज नेपाली समयअनुसार बिहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।

नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् ।

टोलीमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोली घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २-२ खेल खेल्नेछ ।

यसअघि ओमानमा भएको टी-२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोली ओमानबाटै दुबई पुगेको हो ।

नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ ।

त्यसपछि नोभेम्बर १ तारिख अर्थात् शनिबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ ।

त्यस्तै, नोभेम्बर ५ तारिख अर्थात् कात्तिक १९ गते यो शृङ्खलाको अन्तिम खेल नेपालले यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।

लिग-२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ ।

दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *