नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य
थानकोट ।
दीपेन्द्रसिंह ऐरीको अर्धसतक मद्धतमा नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकालाई दुई सय ७२ रनको लक्ष्य दिएको छ ।
शनिबार युएईको दुबईमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अल आउट हुँदा दुई सय ७१ रन बनायो ।
नेपालको लागि उपकप्तान दीपेन्द्रले ६७ बलमा सर्वाधिक ७५ रन बनाएका थिए । २ चौका र ३ छक्का प्रहार गरेका दीपेन्द्र ४५.३ ओभरमा छक्का हान्ने क्रममा क्याच आउट भएका थिए ।
आठौ नम्बर ब्याटिङमा आएका हिटर करण केसीले ३१ बलमा आक्रमक ब्याटिङ गर्दै ४९ रन बनाएका थिए । उनले २ चौका र ३ छक्का हिर्काउँदै नेपालको इनिङ्स उकासेका थिए । ओपनर कुशल भुर्तेलले ६५ बलमा समान दुई चौका र छक्कासहित ४७ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका भिम सार्कीले ५८ बलमा चार चौकासहित ४३ रन बनाएका हुन् । कप्तान रोहितले ३६ रनको योगदान गरेका थिए ।
नेपालको इनिङ्समा दुई ठूला साझेदारी बनेको थिए । कप्तान रोहित र उपकप्तान दीपेन्द्रले ८२ बलमा सर्वाधिक ८९ तथा कुशल भुर्तेल र भिमले १०८ बलमा ८६ रनको साझेदारी गरेका हुन् ।
ओपनर आसिफ शेखले २, आरिफ शेखले २ तथा गुल्शन झाले ५, नन्दन यादव र ललित राजवंशीले समान एक रन मात्र बनाएका थिए । सन्दीप लामिछाने ४ रनमा अविजित रहे ।
अमेरिकाका हरमीत सिंहले तीन तथा नोस्थस केन्जीगे र सौरभ नेत्राभाल्करले समान दुई विकेट लिए । जसदीप सिंह र सुभम रन्जनेले समान एक विकेट लिएका थिए ।
लिग–२ को यो श्रृङ्खलामा नेपालले दुई खेल खेल्दा दुबै खेलमा हारको सामना गरेको छ । अमेरिका र घरेलु टोली युएईसँगको प्रतिस्पर्धामा ब्याटिङ कमजोरीका कारण नेपालले खराब हार व्यहोरेको थियो ।
पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईबाट पाँच विकेटले हा¥यो । लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता बिस्तारै धराप परिरहेको छ ।
अहिले १२ अंकका साथ नेपाल सहभागी आठमध्ये सातौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाले २२ खेलबाट सर्वाधिक ३२ अंक बटुलेको छ । यता युएइ भने तालिकाको अन्तिममा छ ।













