भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति

Thankot Times

थानकोट ।

गत भदाै २४ गते भएको तोडफोड, लुटपाट, र आगजनीले चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको  कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालका अनुसार उक्त प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बटम स्टेशनका अधिकांश संरचनाका भित्री भाग जलेका छन् ।

भदाै २४ पछि कार्तिक २२ सम्मको व्यापारिक क्षति २५ करोड रुपैयाँ बराबर र आगजनी, तोडफोड र लुटपाटमा करिब २३ करोड रुपैयाँ बराबरको क्षति भएको उनको दाबी छ । यद्यपी, पूर्ण विवरण आउन बाँकी रहेको अध्यक्ष ढकालको भनाइ छ।

केबलकारको सञ्चालन प्रणाली अन्तर्गत डाटा सेन्टर सुरक्षित रह्यो, अन्य सामाग्री करिब ध्वस्त भयो अध्यक्ष ढकालले सोमबार आयोजना भएको अन्तर्क्रियाका क्रममा भने ।

पटकपटक गरी ३ पटकसम्म केबलकार स्टेशनमा आक्रमण भएको जानकारी दिँदै उनले भने स्थानीयबासीले निकै प्रयास गर्दापनि संरचना बचाउन नसकिएको जनाउँदै कम्पनीका संरचना बचाउन स्थानीय बासीबाट भएको प्रयासका लागि आभार व्यक्त गरे ।

चन्द्रागिरि हिल्स हामी सबैको सम्पत्ति भएको बताउँदै उनले भने हिल्सप्रतिको आक्रमण निन्दनीय छ, ८० हजार जनाको लगानी रहेको सम्पत्तिमा आक्रमण हुँदा हिल्स मात्रै हैन चन्द्रागिरि क्षेत्रकै आर्थिक अवस्थामा असर गरेको छ ।

उनले केबलकार सेवा गत शनिबारबाट सुचारु भइरहेको बताउँदै बटम स्टेशनबाट उपलब्ध अन्य सेवा सुचारु हुन भने केही समय लाग्ने बताए ।

अन्तर्क्रिया कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख मेयर घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी, चन्द्रागिरि हिल्स सञ्चालक समितिका पदाधिकारीहरू, व्यवस्थापनका उच्च अधिकारीहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *