एमालेको ११औं महाधिवेशनमा चन्द्रागिरिबाट नगरअध्यक्ष राउतसहित ६ जना प्रतिनिधिले भाग लिने
थानकोट ।
नेकपा एमालेको आसन्न ११औं महाधिवेशनमा चन्द्रागिरि नगरबाट ६ जना प्रतिनिधिले भाग लिने भएका छन् ।
काठमाडाैं क्षेत्र नं. ९ र १० मा विभक्त चन्द्रागिरि नगरपालिकाबाट सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तमबहादुर राउतसहित ६ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।
नेकपा एमालेको ११औं महाधिवेशनमा काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं. २ देखी ११ सम्मका १० वडा, कीर्तिपुर र दक्षिणकाली नगरबाट प्रतिनिधित्व गर्ने सबै ५ जनाको चयन निर्विरोध भएको छ ।
विभिन्न क्लस्टरमा गरी यो क्षेत्रबाट ५ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
जसअनुसार चन्द्रागिरिबाट खुला क्लस्टरतर्फ चन्द्रागिरि नगरका प्रेम बहादुर शाहीले प्रतिनिधित्व गर्दा महिला क्लस्टरतर्फ चन्द्रागिरि नगर उपप्रमुख समेत रहेकी बसन्ती श्रेष्ठ र युवा क्लस्टरतर्फ सन्तोष खड्का निर्विरोध भएका हुन् ।
यस्तै, चन्द्रागिरि वडा नं. १, १२, १३, १४ र १५ समेत समावेश भएको काठमाडाैं क्षेत्र नं. ९ बाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको चयनमा भने निर्वाचन नै गर्नुपरेको थियो ।
जसमा नेकपा एमालेका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तमबहादुर राउतले खुला क्लस्टर, रन्जु खड्काले महिला क्लस्टर र पूर्ण कुमार तण्डुकारले युवा क्लस्टरबाट पार्टीको केन्द्रीय महाधिवेशनका लागि सहभागी हुने अवसर पाएका हुन् ।
नेकपा एमालेले यही २७ देखि २९ मंसिरसम्म भक्तपुरमा ११औँ महाधिवेशन गर्ने निर्णय गरेअनुसार अहिले महाधिवेशन प्रतिनिधिहरूको चयन तिव्र बनाइएको छ । सो अधिवेशनका लागि कतिपय जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भइरहेको छ भने कतिपयमा चुनावी प्रकृया नै अवलम्वन गर्न परेको बताइएको छ ।












