चन्द्रागिरि डाँडामा चित्लाङ ‘भ्यू टावर’ संचालनमा, आम्दानीको ७०% रकम थाहा नगरपालिकालाई

थानकोट ।

चन्द्रागिरि नगरपालिकासँग सीमा जोडिएको मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ ‘भ्यू टावर’ बुधबारदेखि संचालनमा आएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै ‘भ्यू टावर’ संचालनमा आएको हो । मुख्यमन्त्री बाँनियाँले चित्लाङ ‘भ्यू टावर’ले थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए । पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि नै प्रदेश सरकारले सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै उनले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै आएको बताए ।

कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको बताए । थाहा नगरपालिकाका मेयर विष्णु विष्टले चित्लाङ ‘भ्यू टावर’ले थाहा नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गरे । उक्त ‘भ्यू टावर’ संचालन गर्न प्रदेश सरकारले थाहा नगरपालिकालाई गत सातामात्र हस्तान्तरण गरेको थियो ।

भ्यूटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिकासँग पर्यटन विकास आयोजनाले सम्झौता गरेको छ । सम्झौताअनुसार थाहा नगरपालिकाले उक्त भ्यू टावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजस्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे सम्झौतामा पर्यटन प्रवर्द्धनबाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।

चित्लाङ भ्यू टावरको मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्रविधिको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौतामा उल्लेख छ ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रमअन्तर्गत ‘भ्यू टावर’ निर्माण अघि बढाएको थियो । उक्त परियोजनामा ‘भ्यू टावर’सँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । ‘भ्यू टावर’ निर्माण पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँमा गरिएको हो । यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा ‘भ्यू टावर’ निर्माण गरिसकेको छ ।

यी ‘भ्यू टावर’हरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ लगानी गरेको छ ।

११ वटा ‘भ्यू टावर’मध्ये ५ वटा संचालनमा आइसकेको पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *